सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यूहन्‍ना 4

यो अध्याय यसमा पर्छ: Boek van de tekenen

1अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो, 2(यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए) 3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो। 4तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो। 5त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो। 6त्यहाँ याकूबको इनार थियो। येशू आफ्नो यात्राले थाक्‍नुभयो र इनारको छेउमा बस्‍नुभयो। यो छैठौँ घडीतिरको कुरा थियो। 7एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ।” 8किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए। 9त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन्। 10येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए।” 11स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ। अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त? 12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?” 13येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ, 14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन। बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ।” 15स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन।” 16येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ।” 17स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ। 18किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन। तिमीले भनेकी कुरो साँचो हो।” 19स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु। 20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ।” 21येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर। समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ। 22तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ। हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ। 23तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ। 24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।” 25स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ।” 26येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ।” 27त्‍यही बेला उहाँका चेलाहरू आइपुगे। उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले पनि भनेन। 28त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्, 29“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर। उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त?” 30तिनीहरू सहरबाट उहाँकहाँ आए। 31त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस्।” 32तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ।” 33त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?” 34येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो। 35अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन्। 36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून्। 37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ। 38तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ। अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ।” 39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे। 40त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो। 41उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे। 42तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ।” 43दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो। 44किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन। 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे। यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए। 46अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए। 47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे। 48तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ।” 49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस्।” 50येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे। 51तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे। 52यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे। तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो।” 53त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे। यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे। 54येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।