सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एस्तर 8

यो अध्याय यसमा पर्छ: Ommekeer

1त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन्। 2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए। एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन्। 3तब एस्तरले फेरि राजासित कुरा गरिन्। उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन्। 4राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन्। 5उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस्। 6किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा म कसरी सहन सक्छु? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु?” 7राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो। 8राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ। किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन।” 9तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो। भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो। 10मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए। राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए। 11हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए। 12बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो। 13यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो। त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो। 14त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए। तिनीहरू ढिलो नगरी गए। राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो। 15तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्द मनायो। 16यहूदीहरू खुसी र प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो। 17राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो। देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।