सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एस्तर 1

यो अध्याय यसमा पर्छ: Ester koningin

1अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे। 2ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे। 3आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए। फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए। 4तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए। 5यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए। यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो। यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो। 6बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए। त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्‍ने सोफहरू थिए। 7सुनका कचौराहरूमा दाखमद्य बाँडियो। प्रत्येक कचौरा विशिष्‍ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो। 8“जबरजस्ती गरिनुहुँदैन” भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए। 9रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन्। 10सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई, 11रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे। तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो। 12तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन्। तब राजा सार्‍है रिसाए। आफूभित्रै तिनी रिसले क्रुद्ध भए। 13त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो)। 14फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए। तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए। 15राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ?” 16राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ। 17रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ। यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ। तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन्।' 18आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस र मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन्। धेरै अनादर र क्रोध पैदा हुनेछ। 19राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस्। राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस्। 20जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन्।” 21यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे। 22तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए। हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए। साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।