सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एस्तर 2

यो अध्याय यसमा पर्छ: Ester koningin

1यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे। तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे। 2तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस्। 3राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस्। तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन्। 4राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन्।” राजालाई यो सल्लाह मन पर्‍यो, र तिनले त्यसै गरे। 5शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए। 6तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। 7तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन्। यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्‍थिन्। मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए। 8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए। तिनीहरूलाई हेगेको हेरचाहमा राखियो। एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन्। 9यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन्। तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए। तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे। 10एस्तरको मानिसहरू र उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन्, किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए। 11एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे। 12स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो— 13एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो। 14साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे। राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन्। 15जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन्। एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन्। 16अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो। 17राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए। त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए। 18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए। तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए। 19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए। 20मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन्। मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन्। 21ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे। 22मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन्। 23त्यो सुचनको अनुसन्धान भयो र पुष्‍टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो। यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।