सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

दानिएल 8

यो अध्याय यसमा पर्छ: Visioenen

1राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें। 2मैले हेरिरहँदा, दर्शनमा मैले आफूलाई एलाम प्रदेशको शूशनको किल्लामा भएको देखें। दर्शनमा म ऊलै नहरको छेउमा थिएँ। 3मैले माथि हेरें र मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें। एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो, तर छोटोभन्दा लामो ढिला बढ्यो र छोटोले त्‍यसलाई जित्‍यो। 4अनि त्यो भेडाले पश्‍चिममा, त्‍यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें। त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन। तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन। आफूलाई जे मन लाग्‍यो, त्‍यसले त्‍यही गर्‍यो, र त्यो महान् भयो। 5जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्‍चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें, जो जमिनलाई नै नछोए जस्‍तो गरी द्रुत गतिमा दौडेर सम्‍पूर्ण पृथ्वीको सतहमा गयो। त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो। 6दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो—त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ— र त्यो बोको उक्‍त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो। 7त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें। भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो। त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो। बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो। त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन। 8तब त्यो बोको धेरै ठुलो भयो। तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए। 9तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो। 10त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो। ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो। 11त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो। त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो। 12विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ। त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ। 13त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ?” 14उहाँले मलाई भन्‍नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ। त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ।” 15जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें। तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे। 16ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें। उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर।” 17यसैले तिनी म उभिएको ठाउँ नजिक आए। जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें। तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ।” 18तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्‍टो पारेर म गहिरो निद्रामा निदाएँ। तब तिनले मलाई छोए र मलाई खडा गराए। 19तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो। 20तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन्। 21त्यो बोकोचाहिं ग्रीसको राजा हो। त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो। 22अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन। 23ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ। 24उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन। उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ। काम गर्नेछ र सफल हुनेछ। उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ। 25आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ। आफ्नै मनमा ऊ महान् हुनेछ। उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ। राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन। 26साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन्। तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ।” 27अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ। त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें। तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।