सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

दानिएल 2

यो अध्याय यसमा पर्छ: Verhalen aan het hof

1नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे। तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन्। 2त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए। उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए। उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो। यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए। 3राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ।” 4तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं।” 5राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ। तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन्। 6तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ। यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन।” 7तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं।” 8राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ। 9तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ। मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ। यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ।” 10ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन। कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन्। 11महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन्।” 12यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए। 13यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो। यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस्। 14तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्‍ति प्रख्‍यात सबै जनालाई मार्नको निम्‍ति आएका राजाका अङ्गरक्षकका कमान्‍डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए। 15दानिएलले राजाका कमान्‍डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए। 16त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्। 17त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए। 18यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्। 19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे, 20र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन्। 21उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ। उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ। 22उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ। 23हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो। हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ।” 24त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए)। तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु।” 25त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ।” 26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?” 27दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन्। 28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ। हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए। 29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ। 30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन। हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो। 31महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो। त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो। त्यसको चमक डरलाग्‍दो थियो। 32त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र तिघ्राहरू काँसाका थिए, 33र त्यसका गोडाहरू फलामका थिए। त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए। 34हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो। तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो। 35तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए। बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन। तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो। 36हजुरको सपना यही थियो। अब हामी महाराजालाई अर्थ बताउँछौं। 37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ। 38मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ। जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ। हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ। 39हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ। 40त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ। त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ। 41जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ। त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो। 42जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ। 43जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन्। तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन। 44ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ। त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ। 45जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन। त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो। महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ। यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ।” 46राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे। तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए। 47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ।” 48अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए। तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए। बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए। 49दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे। तर दानिएल राजाको दरवारमा नै रहे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।