सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

दानिएल 5

यो अध्याय यसमा पर्छ: Verhalen aan het hof

1बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए। 2जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून्। 3यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए। राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए। 4तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे। 5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले। त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे। 6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए। तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले। 7मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए। बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ। त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ।” 8अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन्। 9अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो। तिनका भारदारहरू अलमल्ल भए। 10राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन्। रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस्। हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस्। 11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो। महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो। 12यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो। अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन्।” 13तब दानिएललाई राजाको सामु ल्याइयो। राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो। 14देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु। 15बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन्। 16तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु। अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ।” 17तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस्। तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु। 18हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो। 19परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने। उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो। जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो। 20तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए। 21उहाँ मानिसजातिबाट लखेटिनुभयो। उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो। उहाँले गोरुले झैं घाँस खानुभयो। सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो। 22हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन। 23हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ। उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन्। हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन। 24अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो। 25त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन।’ 26यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ।’ 27‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो।’ 28‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ।’” 29अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो। उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे। 30त्यही रात बेबिलोनका राजा बेलसजर मारिए, 31अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।