सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

दानिएल 4

यो अध्याय यसमा पर्छ: Verhalen aan het hof

1नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस्। 2सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ। 3उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ। 4म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ। 5तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो। म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए। 6यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून्। 7त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए। मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन्। 8तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ। 9“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन। मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ। 10म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो। 11त्यो रूख बढ्यो र बलियो भयो। त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो। 12त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो। जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे। सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे। 13म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए। 14तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार। त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून्। 15तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस्। आकाशका शीतले त्यो भिजोस्। त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस्। 16त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस्। 17यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो। यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ।’ 18म, राजा नबूकदनेसरले यो सपना देखें। अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन्। तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन्।” 19तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो। राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस्। 20हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो, 21र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे, 22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ। हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ। 23हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड। त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस्।’ 24हे महाराजा, यसको अर्थचाहिं यो हो। यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ। 25हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ। गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ। 26रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ। 27यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस्। पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस्। थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस्।” 28यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो। 29बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए, 30अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”. 31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ। 32तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ। तैंले गोरुले झैं घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ।” 33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो। तिनी मानिसहरूबाट निकालिए। तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो। तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो। 34ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो। “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ। किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ। 35सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन्। स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन। कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?” 36मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो। मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे। मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो। 37अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन्। आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।