सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

आमोस 7

यो अध्याय यसमा पर्छ: Visioenen

1परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो। हेर, बसन्‍त ऋतुको बाली मौलाउनै लाग्‍दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो। 2जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्‍यसपछि मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया क्षमा गर्नुहोस्। याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ।” 3परमप्रभु यस विषयमा नरम हुनुभयो। उहाँले भन्‍नुभयो, “यस्तो हुनेछैन।” 4अनि परमप्रभु परमेश्‍वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्‍वरले न्याय गर्नलाई आगो बोलाउनुभयो। त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्‍म पार्न सक्थ्यो। 5तर मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया रोक्‍नुहोस्। याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ।” 6परमप्रभु यस विषयमा नरम हुनुभयो। परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन।” 7उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो। 8परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु। म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ। 9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु।” 10तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ। यस देशले त्यसका सबै बोली सहन सक्‍दैन। 11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ।’” 12अमस्‍याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर। 13तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो।” 14अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ। म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु। 15तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर।’ 16अब परमप्रभुको वचन सुन। तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल।’ 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ।’”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।