सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

आमोस 5

यो अध्याय यसमा पर्छ: Hoort dit woord

1ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन। 2कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्‍नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन। 3किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन्।” 4किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो! 5बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर। किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ। 6परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ। त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन। 7ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन्!” 8परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो। उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ। उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ। उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ। उहाँको नाउँ परमप्रभु हो। 9उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन्। 10सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन्। 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ। तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ। 12किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ 13यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो। 14असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ। यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ। 15दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर। सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ। 16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन्। 17सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ। 18परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ, 19जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ। 20के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको? 21“म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ। 22तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु। 23तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ। तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ। 24बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस्। 25ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र? 26तिमीहरूले आफ्ना राजा सिक्‍कुथ, र आफ्‍ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ। 27यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।