सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

आमोस 1

यो अध्याय यसमा पर्छ: Oordeel over de volken en Israël

1तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन्। भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे। 2तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ। उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ। गोठालाहरूका खर्कहरू सुक्‍नेछन्। कार्मेलको टाकुरो ओइलाउनेछ।” 3परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे। 4हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ। 5म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्‍नेछु र आवन उपत्यकामा राज्‍य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ। 6परमप्रभु यसो भन्‍नुहुन्छ, “गाजाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई कैदी बनाएर, एदोमको हातमा सुम्‍पन लगे। 7गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ। 8अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु। एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ। 9परमप्रभु यसो भन्‍नुहुन्छः “टुरोसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई एदोममा सुम्‍पेका छन्, र आफ्‍नो भ्रातृत्‍व करार तिनीहरूले तोडेका छन्। 10टुरोसका पर्खालहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ।” 11परमप्रभु यस्तो भन्‍नुहुन्छ, “एदोमका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्‍यो, र सबै दयालाई त्यागिदियो। त्यसको रिस निरन्तर बढ्यो, र त्यसको क्रोध सदाको निम्ति रह्‍यो। 12तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ।” 13परमप्रभु यसो भन्‍नुहुन्छ, “अम्‍मोनका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्‍त्रीहरूका पेट चिरे। 14रब्बाका पर्खालहरूमा म आगो बाल्‍नेछु, र युद्धको दिनको चिच्‍याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ। 15तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।