सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 कोरिन्थी 3

यो अध्याय यसमा पर्छ: Paulus' bediening

1के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र? 2तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन्। 3र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ। यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो। यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो। 4र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो। 5कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ। बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो। 6परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ। यो करार अक्षरबाट होइन, तर आत्माबाट हो। किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ। 7अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन्। यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो। 8पवित्र आत्माको काम झन् कति धेरै महिमित होला? 9यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ! 10किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन। 11यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ! 12हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ। 13हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ। 14तर तिनीहरूका मन कठोर पारिएका थिए। पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ। त्यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ। 15तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ। 16तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ। 17परमप्रभु आत्मा हुनुहुन्छ। जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ। 18अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं। हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ। यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।