सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

न्यायकर्ताहरू 9

यो अध्याय यसमा पर्छ: De rechters

1यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने, 2“यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्‍ने कुरा सम्झनुहोस्।” 3तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन्।” 4उनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरीवटा सिक्‍का दिए र अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे। 5अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे। यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए। 6शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए। 7जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए। तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून्। 8एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के। अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस्।’ 9तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 10ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस्।’ 11तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 12ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस्।’ 13दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 14अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस्।’ 15त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस। होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस्।’ 16अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने, 17र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने, 18तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ। अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो। 19तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस्। 20तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस्। अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस्।” 21योताम भागेर बेअरमा गए। उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो। 22अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे। 23परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मा पठाउनुभयो। शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए। 24यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो। 25यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे। यस बारेमा अबीमेलेकलाई भनियो। 26एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए। शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे। 27तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे। आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे। 28एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? 29यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ। मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला।’” 30जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए। 31तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन्। 32अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस्। 33अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस्। जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस्।” 34यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे। 35एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए। अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के। 36जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन्!” जबूलले तिनलाई भने, “तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन्।” 37गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् र एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ।” 38अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड।” 39गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे। 40अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे। सहरको ढोकामा धेरै जना घाइते भएर मरे। 41अबीमेलेक अरूमाहमा बसे। जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले। 42अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो। 43तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे। उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे। 44अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए। अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे। 45अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे। तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे। तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए। 46शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे। 47सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो। 48अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए। अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे। तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर।” 49यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे। तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे। 50त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे। 51तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने। तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए। 52अबीमेलेक त्‍यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे। 53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो। 54त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे। 55जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के। 56यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो। 57परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्‍यो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।