सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

न्यायकर्ताहरू 7

यो अध्याय यसमा पर्छ: De rechters

1त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले। मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो। 2परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो।’ 3यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस्।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे। 4परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु। म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ। तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन।” 5यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर्।” 6तिन सय जना मानिसहरूले चाटेर पिए। अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए। 7परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु। अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे।” 8यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए। गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे। अब मिद्दानीका छाउनी तल बेसीमा थियो। 9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु। 10तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा, 11र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए। 12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए। तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए। 13जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो। त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो। त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो।” 14अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन। परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ।” 15जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे। तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ।” 16ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए। 17तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर। हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू। 18जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’” 19यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए। मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए। 20तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए। तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके। तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार।” 21हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे। तिनीहरू ठुलो सोरमा कराए र भागे। 22जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो। सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे। 23नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे। 24गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे। 25तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।