सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हिब्रू 11

यो अध्याय यसमा पर्छ: Volhard in geloof

1अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो। 2किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए। 3विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो। त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन्। 4विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए। यसकारण, तिनी धर्मी हुन पुगे। यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए। त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन्। 5विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन्। “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो। 6विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ। किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ। 7विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो। तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए। यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए। 8अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए। आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए। 9तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे। तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे। 10किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। 11सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे। तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो। तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे। 12त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन। 13यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे। पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे। 14किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ। 15साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए। 16तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन्। त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ। 17आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए। उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए। 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।” 19परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए। 20आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए। 21याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष्‌‌ दिए। लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे। 22योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए। 23मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन्। 24मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे। 25त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने। 26मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने। कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए। 27विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे। उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे। 28त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे। 29विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे। जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे। 30तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो। 31राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन्। 32अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन। 33विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे। तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए। 34तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए। 35स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे। अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन्। त्यसैले, तिनीहरूले दण्ड भोगे। 36अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे। 37तिनीहरूलाई ढुङ्गाले हानियो। तिनीहरूलाई दुई भाग हुने गरी चिरियो। तिनीहरूलाई तरवारले मारियो। तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो। 38यो संसार तिनीहरूका लागि योग्य थिएन। तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो। 39यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन्। 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।