सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हिब्रू 10

यो अध्याय यसमा पर्छ: De ware hogepriester

1किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन्। पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन्। 2नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन। 3तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन्। 4किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ। 5जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ। 6पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो।” 7तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु।” 8उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो।” (यी त व्यवस्थाअनुसार चढाइन्छन्)। 9तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ। 10दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ। 11अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ। उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन। 12अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ। 13उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ। 14किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ। 15र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो, 16“मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ। तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु।” 17म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ।” 18अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन। 19यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ। 20पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ। 21र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 22हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ। 23हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। 24हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ। 25हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन्। बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ। 26किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन। 27त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ। 28मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ। 29परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला। 30किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ।” 31जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो। 32तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर। 33तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ। 34किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ। 35त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ। 36तिमीहरूलाई धैर्यको खाँचो छ। त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ। 37“किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन। 38मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन।” 39तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ। बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।