सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

कलस्सी 1

यो अध्याय यसमा पर्छ: Groet en gebed

1पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट 2कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 3हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं। 4येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ। 5स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ। सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ, 6जुन तिमीहरूकहाँ आयो। यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ। अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ। 7यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन्। 8इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए। 9यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ। सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ। 10हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक। हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ। 11सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं। 12हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ। 13उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ। 14उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ। 15पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ। उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ। 16किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए। चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए। 17उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन्। 18र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ। उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ। 19किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा, 20अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो। उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो। चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो। 21अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ। 22तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो, 23तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ। यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो। यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु। 24तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु। ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु। 25परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ। 26यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो। तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ। 27यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो। यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो। 28उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं। प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ। 29मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।