सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

फिलिप्पी 2

यो अध्याय यसमा पर्छ: Eensgezind, zoals Christus

1यसकारण म मान्दछु, कि ख्रीष्‍टमा उत्साह छ। म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ। म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ। म मान्दछु, कि त्यहाँ स्‍नेही करुणा र सहानुभूति छ। 2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर। 3स्वार्थ र रित्तो अहङ्कारमा केही नगर। बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान। 4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ। 5त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो। 6उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन। 7बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो। उहाँले कमराको रूप धारण गर्नुभयो। उहाँ मानिसको स्वरूपमा आउनुभयो। मानिसकै स्वरूपमा उहाँ रहनुभयो। 8उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। 9यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो। परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो। 10उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू। 11र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस्। 12यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्‍तिको काम पुरा गर। 13किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ। 14गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर। 15यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक। यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक। 16जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस्। किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु। 17तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु। 18त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ। 19तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ। 20किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन। 21किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन्। 22तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन्। 23यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु। 24तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु। 25तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु। तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन्। 26किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए। 27किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए। तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो। 28यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु। 29त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर। तिनीजस्ता मानिसलाई आदर गर। 30किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे। मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।