सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

फिलिप्पी 1

यो अध्याय यसमा पर्छ: Groet en dank

1ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई। 2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु। 4तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु। 5पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु। 6म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ। 7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु। मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ। 8किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ। 9र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस्। 10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक। म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक। 11यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक। 12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ। 13किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ। 14र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन्। 15कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन्। 16प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्दछन्। 17तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन्। मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन्। 18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु। हो, म रमाउनेछु। 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ। तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ। 20मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ। बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु। 21किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। 22तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन। 23किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु। म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो। 24तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ। 25यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु। 26परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ। 27ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर। चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ। सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ। 28र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ। यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो। तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो। 29किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि। 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।