सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

रूथ 1

यो अध्याय यसमा पर्छ: Terug naar Bethlehem

1न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो। यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए। 2ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो। तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे। 3त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन्। 4यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे। 5त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे। 6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन्। 7त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे। 8नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ। जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस्। 9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्,।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए। 10तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ।” 11तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र? 12मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु। यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि, 13के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ।” 14त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए। ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन्। 15नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन्। तिम्री बहिनीसँगै फर्केर जाऊ।” 16रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। 17तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु। यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस्।” 18जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन्। 19त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे। तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो। माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?” 20तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन। मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ। 21म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ। त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?” 22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के। तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।