सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गलाती 4

यो अध्याय यसमा पर्छ: Geloof en wet

1मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन। 2बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ। 3यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ। 4तर जब ठिक समय आयो, तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो। 5हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो। 6तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ। 7यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ। यदि तिमी पुत्र हौ भने, तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ। 8तर पहिले जब तिमीहरूले परमेश्‍वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन्। 9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ? 10तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ। 11म तिमीहरूका लागि चिन्ता गर्दछु। म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ। 12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु। तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ। 13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ। 14मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ। त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ। 15त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ। 16मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त? 17तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन। तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन्। 18म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्‍नु असल हुन्छ। 19मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु। 20म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु। 21तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ? 22किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट। 23तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो। 24यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन्। तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो। तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन्। तिनी हागार हुन्। 25अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो। तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन्। 26तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन्। 27किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ। तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ। किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन्।” 28भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ। 29त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो। अहिले पनि यस्तै नै छ। 30धर्मशास्‍त्रले के भन्दछ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ। किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन।” 31त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।